यो ऐन प्रारम्भ हुँदाका बखत किसानले जग्गाधनीलाई पोत बुझाउने गरी कमाई रहेको उखडा जग्गामा जग्गा धनीको हक समाप्त भै किसानको नाममा तोकिएबमोजिम नम्बरीमा दर्ता हुनेछ ।
तर ः–
(१) सो किसान विदेशी नागरिक रहेछ वा पछि विदेशी नागरिक ठहरिन आयो भने निजले जोतेको उखडा जग्गा नेपाल सरकारको नाममा दर्ता हुनेछ र सो जग्गा सुकुम्वासी नेपाली नागरिकलाई कुनै शर्तमा नेपाल सरकारले बिक्री वितरण गर्न सक्नेछ । त्यस्तो जग्गाको सम्बन्धमा जग्गा धनीले यस ऐन बमोजिम पाउनु पर्ने क्षतिपूर्ति मध्ये केही पनि नपाएको भए सबै र किसानबाट केही पाइसकेको भए सो कट्टा गरी बाँकी रकम नेपाल सरकारले पाँच वर्ष भित्र एकमुष्ट वा पाँच बराबर किस्तामा जग्गाधनीलाई दिनेछ ।
(२) सो किसानले दफा ४ को उपदफा (१) को प्रतिबन्धात्मक वाक्याँश (ख) अनुसार एकमुष्ट वा पहिलो किस्ता वापत बुझाउनु पर्ने क्षतिपूर्तिको रकम सो बमोजिम नबुझाएमा सो जग्गा निजको नाममा दर्ता हुने छैन ।